नेपालगन्जमा खुलेयाम बेचिन्छ प्लाष्टिकका फूलमाला : छैन अनुगमन, हुँदैन कारबाही

नेपालगन्जमा खुलेयाम बेचिन्छ प्लाष्टिकका फूलमाला : छैन अनुगमन, हुँदैन कारबाही

नेपालगन्ज १४ कार्तिक : बाँकेको कोहलपुरमा प्लाष्टिकजन्य फुलगुच्छा तथा माला प्रयोगमा निषेध गरेकोछ । तर कोहलपुरदेखि १६ किलोमिटर दक्षिण नेपालगन्ज सहरमा भने प्लाष्टिकजन्य फूलगुच्छा तथा माला निर्वाधरपमा विक्रि भइरहेकाछन् ।

नेपालीहरुको चाडपर्व लक्षित गर्दै यहाँका ब्यापारीले हरेक वर्ष प्लाष्टिकजन्य फुलगुच्छा तथा माला आयात, विक्री वितरण गरिरहेकाछन् तर, स्थानीय सरकार भने कानमा तेल हालेर मौनता साँधिरहेकोछ । 

जिल्लाका अन्य पालिकाले प्लाष्टिकजन्य फूलगुच्छा र मालामा प्रतिबन्ध गर्दै अटेरी गर्नेलाई कारबाही गर्ने जनाउदासम्म नेपालगन्ज उपमहानगरपालिकाले भने वातावरणी तथा मानव स्वास्थ्यलाई दीर्घकालिन असर गर्ने प्लाष्टिकजन्य फूलगुच्छा र मालाको विक्री वितरणमा प्रतिबन्ध लगाउन कुनै सुरसार गरेको छैन ।

बाँकेको कोहलपुर नगरपालिकाले गत हप्ता एक सूचना जारी गर्दै तिहारलाई लक्षित गरी प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगायो । तर, यता नेपालगन्ज उपमहानगरपालिकामा भने प्लाष्टिकका फूलमाला बजारभरी छ्यापछ्याप्ती विक्री भइरहेकोछ । जसका कारण स्थानीय फूल व्यवसायीहरू चिन्तित छन् । 

सप्तरंगी टीकाजस्तै तिहारमा फूलको पनि विशेष महत्व हुन्छ । दिदीबहिनीहरूले सप्तरंगी टीका लगाएपछि दाई वा भाइहरूलाई फूलमाला लगाउने गर्छन् । त्यसैले बजारमा फूलको माग उच्च हुन्छ ।

तिहारकै लागि भनेर वर्षेनी सर्वसाधारणहरू गाउँमा होस् या शहरमा फूल रोप्ने गर्छन् । नेपालगन्ज र आसपासका किसानले आर्थिक उपार्जनका लागि फूल खेती गर्छन् तर, प्लाष्टिकजन्य फूलमालाले प्राकृतिक फूल ओझेलमा पर्ने गरेको छ । यो क्रम यस वर्ष झन् बढेर आएकोछ ।

विशेषगरि नेपालगन्जस्थित बागेश्वरी मन्दिर छेउमा रहेका पसलहरु, सदरलाईन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझी लगायतका स्थानमा यतिबेला रंगिबिरंगी प्लाष्टिकका फूलमालाले झकिझकाउ बनेका छन् । तर, ती माला फुलबाट बनेका भने होईनन् । 

रेशम, प्लाष्टिक र रगिंन कपडाबाट बनाइएका प्लाष्टिकका मालाले झकिझकाउ पारिएको छ । यसरी बिक्रीका लागि राखिएका प्लाष्टिकका फुल गुच्छाहरु स्वदेशी उत्पादन भने होईनन् । बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको स्थानीय व्यापारि बताउँछन् । यसवर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको दबदबा रहेको व्यापारी स्वयमले स्वीकारेकाछन् ।


सरकारले २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको थियो भने माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा आएको थियो । जसअनुसार वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन ।

यस्तै वातावरण विभागले २०७९ भदौ १० गते एक सूचना जारी गर्दै सोही महिनाको १ गतेदेखि प्लाष्टिकजन्य फुलगुच्छा, माला, झोलाको उत्पादन, प्रयोग तथा विक्रीमा प्रतिबन्ध लगाएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको नेपालगन्जमा प्रष्ट देख्न पाइन्छ ।

Duduwa Tato hawa Bachau Image

सरकारले लगाएको प्रतिबन्धका अनुसार चाडबाड, महोत्सव तथा सभा समारोह लगायतमा प्लाष्टिकजन्य फुलगुच्छा, माला लगायतका सामाग्रीहरुको प्रयोग, उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन तथा यस्तो गरेको पाइएमा कानूनी कारबाही गरिनेछ । तर, नेपालगन्जको हकमा भने त्यो लागु भएको पाइदैन ।

यसरी प्लाष्टिकजन्य मालाले वातावारणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने, स्थानीय कृषकबाट उत्पादित फुलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरीने जस्ता समस्याहरु बढ्ने गर्छ । भने स्थानीय कृषकहरुले उत्पादन गरेको फुलहरुको उत्पादन र बजारीकरणमा प्रभाव पार्छ ।