गाउँपालिकाको पैसामा राजनीतिको रोटी सेक्दै इस्तियाक

गाउँपालिकाको पैसामा राजनीतिको रोटी सेक्दै इस्तियाक

नेपालगन्ज ३० कार्तिक : प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव सञ्चालनमा छ । महोत्सवको आज अन्तिम दिन आज पनि भागवत सार श्रवणसहित दान दिन सकिने प्रबन्ध मिलाइएकोछ । 

बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले राजनीतिक रोटी सकेकाछन् । उनले बिहीबार बेलुका बैकुण्ठधाम आध्यात्मिक महोत्सव स्थलमा पुगेर पाँच लाख दान गर्ने घोषणा गरे । 

बाँकेको नरैनापुरबाट दोस्रो कार्यकालका लागि पालिका अध्यक्षमा निर्वाचित इश्तियाक अहमद शाहले महोत्सवमा ५ लाख रुपैयाँ दान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनी धार्मिक सद्भाव कायम गर्न भन्दै कथा प्रवचनको सातौं दिनको आरतीमा समेत सरिक भए । 

महोत्सवको कथा प्रवचनका बीचमा बोल्दै शाहले हाललाई ५ लाख दान गर्ने बताएपनि बैकुण्ठधाम निर्माणका लागि नपुग रकममा आफ्नो सधैं साथ रहने प्रतिबद्धता ब्यक्त गरे । 

उनले पालिकाको तर्फबाट निर्णय गराएर थप बजेटको व्यवस्था गर्ने जनाउँदै हर हालतमा बैकुण्ठधाम बनाएरै छाड्ने अठोट गरे । पालिका अध्यक्ष शाहले बैकुण्ठधाम निर्माणका लागि ब्यक्तिगत सहयोग (दान) भने आफू सोचर बताउने बताए । तर, विभिन्न सञ्चारमाध्यममा उनले नै ब्यक्तिगत पाँच लाख दान गरेको समाचार सम्प्रेषणमा आए । सामाजिक सञ्जालमा बधाई र उत्कृष्ट कार्य भएको भन्दै चर्चा चुलियो ।

आयोजक बैकुण्ठधाम मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले समेत धार्मिक सद्भावको शहरको रुपमा चिनिएको नेपालगन्जले आज फेरी एउटा उदाहरण प्रस्तुत गरेको बताउँदै बैकुण्ठधाम निर्माणका लागि ५ लाख दान गर्ने शाहलाई धन्यवाद दिए । उनले धार्मिक द्वन्द्व निम्त्याउन खोज्नेहरुलाई शाहबाट शिक्षा लिन समेत आग्रह गरे ।

आयोजकका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले पाँच लाख दान गर्ने बताए पनि उक्त रकम प्राप्त भएको छैन । तर, नरैनापुरका अध्यक्ष शाहले दान गर्ने भनिएको उक्त रकम भने ब्यक्तिगत नभएर गाउँपालिकाको बजेटबाट उपलब्ध गराउने रहेको पुष्टि भएकोछ ।

आयोजक बैकुण्ठधाम आध्यात्मिक महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक हेमन्त कर्मचार्यले विभिन्न सञ्चारमाध्यममा आएका समाचारले भ्रम सिर्जना नहोस् भन्दै एउटा स्टाटस समेत लेखेका छन् ।

उनको स्टाटसमा भनिएकोछ –‘नेपालगन्जको रामलीला मैदानमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवको बिहीवार पं.दीनबन्धु पोखरेलबाट प्रवचन करिब अन्तिम चरणमा पुग्दाका क्षणमा उपस्थित बाँके, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहबाट बैकुण्ठधाम निर्माण कार्यका लागि पाँच लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । 

पालिकाले सहयोग नै गर्ने हो, दान दिने हैन । पालिका अध्यक्ष शाहबाट उक्त सहयोग पालिकाबाट गर्ने प्रतिबद्धता जनाइएको हो, व्यक्तिगत पछि सोचेर बताउने भन्नु भएको छ । 

बैकुण्ठधाम निर्माण कार्यमा सहयोगको घोषणा गर्नेमा बाँकेका पालिकामध्ये नरैनापुर अग्रणी भएको छ । यसअघि नेपालगन्ज उप–महानगरपालिकाले भने बैकुण्ठधामको डिपिआर तयार गर्ने अग्रसरता देखाइ सकेको छ । 

खबरदाताहरूबाट खबर सम्प्रेषणमा कतै आएका जानकारीले भ्रम सिर्जना नहोस् !’

बैकुण्ठधाम निर्माणका लागि स्थानीय सरकारको बागडोर सम्हालेका अध्यक्ष शाहले पालिकाबाट आवश्यक सहयोगको प्रबन्ध मिलाइनु पर्ने थियो तर, उनले धार्मिक कार्यक्रमको आडमा पालिकाबाट पाँच लाख दान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै राजनीतिको राटी सेक्ने काम गरे । त्यो पनि पालिका अर्थात सरकारको पैसा दिएर ।

नीतिगत तथा ब्यवहारिक कुरा के हो भने राज्यको पैसा कुनै पनि बहानामा ‘दान’ भनेर प्रदान गर्न मिल्दै मिल्दैन । तर, विडम्बना स्थानीय सरकारको दुई–दुई कार्यकाल सम्हालिरहेका पालिका अध्यक्ष शाहले जनताको सेन्टिमेन्ट जित्न आरती गर्दै दान गर्ने प्रतिबद्धता दिए । अझ रोचक कुरा के भने बैकुण्ठधाम आध्यात्मिक महोत्सव स्थलमा पुगेका उनले ब्यक्तिगत सहयोग गर्ने विषयमा मौन साधेँ । पछि सोचेर बताउने भने ।

यो उनको राजनीतिक गोटी भएको कतिपय जानकारले बताएकाछन् । दुई पटक गाउँपालिका अध्यक्ष भएका शाह सक्रिय राजनीतिमा रहिरने मनसायमा छन् । नीतिगतरुपमा अब उनी २०८४ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा लड्न पाउदैनन् । जसकारण उनले आफ्नो राजनीतिक उडानको सेफ ल्याण्ड खोजिरहेकाछन् । 

Duduwa Tato hawa Bachau Image

नरैनापुरका अध्यक्ष शाह प्रदेश वा संघको निर्वाचनमा होमिने मनसायमा छन् । त्यही मार्गको पहिलो खुड्कीलो स्वरुप उनले यो नाटक रचे । आफ्नै निर्वाचन क्षेत्रमा बन्ने ‘बैकुण्ठधाम’को निर्माणमा मुस्लिम भएर पनि सहयोग गरेको भन्दै भजाउने रणनीतिका साथ उनले चालेको कदम पहिलो गासमै ढुङ्गा सावित बन्यो ।