नेपालगन्जमा ह्वात्तै बढ्यो चिसो, सावधानी अपनाउन आग्रह

नेपालगन्जमा ह्वात्तै बढ्यो चिसो, सावधानी अपनाउन आग्रह

नेपालगन्ज ३० कार्तिक : नेपालगन्ज लगायत आसपासको क्षेत्रमा ह्वात्तै चिसो बढेकोछ । कार्तिक महिनाको अन्तिम दुईदिनदेखि नेपालगन्ज आसपासको क्षेत्रमा चिसो ह्वात्तै बढेको हो । 

देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहदाँ नेपालगन्ज लगायतको क्षेत्रमा ह्वात्तै चिसो बढेको हो । देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

ह्वात्तै चिसो बढेसंगै नेपालगन्ज लगायत बाँकेको वातावरण चिसोमय भएकोछ । कार्तिक २९ गते बेलुका एक्कासी पश्चिमी चिसो हावा चलेको थियो । त्यसअघि बिहीबार विहान नेपालगन्ज बाहिरको क्षेत्रमा कुहिरो लागेको थियो । 

शुक्रबार आज विहानैदेखि सिमसिम सित खसिरहेको छ भने आकाश कुहिरोले ढाकिएकोछ । त्यसो त यसअघि मंसिर पहिलो साता वा दोस्रो सातादेखि नेपालगन्ज लगायतका क्षेत्रमा चिसो हुने गरेकोमा कार्तिक अन्तिम सातामै चिसो बढेपछि यसपटक चिसो बढी हुने सर्वसाधरणले अनुमान लगाएकाछन् । 

चिसो बढेसंगै सर्वसाधरणले न्यानो लुगा लगाएर आआफ्नो दैनिकीमा व्यस्त भएकाछन् । भने नेपालगन्ज बजारमा समेत सर्वसाधरणको उपस्थिती पातलो देखिएकोछ ।

ह्वात्तै चिसो बढेपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिलाहरुले विशेष सावधान अपनाउन चिकित्सकले सुझाएकाछन् । 

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत कुमार रिसालले आग्रह गरे ।

चिसो बढेसँगै बाँकेका कतिपय ठाउँमा हुस्सुसमेत लागेकोछ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा, तातोपानी पिउन समेत उनले आग्रह गरे ।

चिसोको समयमा हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने उनको भनाईछ ।

‘हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुनेपर्ने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ,’ डाक्टर रिसालले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ ।’ 

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ । 

त्यसैगरी दूषित खाना र पानीबाट अधिकांश रोग सर्ने भएकोले खानेकुरामा ध्यान दिनसमेत उनले आग्रह गरे । खानेकुरा र खानेपानी सफा भाँडामा ढाकेर राख्न, खाना बनाउनुअघि र खानुअघि साबुन पानीले राम्रोसँग हात धुन उनले सुझाए ।

Duduwa Tato hawa Bachau Image

तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।