लुम्बिनी सरकारबाट एमालेले लियो समर्थन फिर्ता
- | राजनीति
- २० असार २०८१, बिहिवार
- नेपाखबर
नेपालगन्ज २० असार : लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली काँग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराए ।
सहमतिको सरकार गठन गरेर राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले आजकै मितिदेखि लागु हुने गरि समर्थन फिर्ता लिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट लुम्बिनी प्रदेशमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी छ । मुख्यमन्त्री जोगबहादुर महराले बुधबार साँझ आयोजना गरेको रात्रीभोज कार्यक्रममा राजीनामा दिने तयारी रहेको श्रोतले जानकारी दिएको छ ।
पार्टीले दिएको समर्थन फिर्ता लिएसँगै आज नै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउने तयारी रहेको लुम्बिनी प्रदेश अर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सहरी विकास तथा खानेपानी मन्त्री भुमेश्वर ढकाल, वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसी र सामाजिक विकास मन्त्री रत्नबहादु खत्री रहेकाछन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा नेकपा एमाले र अन्य केही साना दलहरुको समर्थनमा गत चैत्र २३ गते ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।





0 Comments