डुडुवामा बृहत रक्तदान : २११ पिन्ट रगत संकलन
- | नेपाखबर | स्वास्थ्य
- २२ पुष २०८१, सोमवार
- नेपाखबर
डुडुवा (बाँके) २२ पुष : बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत बृहत रुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले भने–‘मधेशी समुदायमा रगत दिनुनपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान शुरु गरिएको हो ।’ गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिबृद्धिका लागि यो अभियान शुरु गरिएको उनले बताए ।
आइतबार आयोजिक बृहत रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको थियो । विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म रगत दिनेहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, महिलालगायत सर्बसाधारण गरि २ सय ११ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनका अनुसार बाँकेमा सम्भवतः पहिलो स्थानीय तहको रुपमा डुडुवाले उल्लेख्य रुपमा धेरै संख्यामा रक्तदातालाई जागरुक बनाई रक्तदानतर्फ उत्प्रेरित गराएको बताए ।
गाउँपालिकाभित्र गरिब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा वर्षमा दुई–तीन पटक बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने अध्यक्ष चौधरीले बताए । उनले गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, युवा–युवती, महिला, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी स्थानीयले गरेको मानविय सेवाप्रति सबैलाई धन्यवाद दिए ।
गाउँपालिकाको रक्तदान कार्यक्रमले स्थानीय समुदायमा रगत दिनुपर्ने जागरुकता फैलिएको स्थानीय युवा बेलबहादुर बोहराले बताए ।
रक्तदान कार्यक्रममा शतक रक्तदाता १५६औ पटक रक्तदान गरेका गोपीनाथ बैश्य र अर्का शतक रक्तदाता १०२औं पटक रक्तदान गरेका सञ्चारकर्मी पवन जायसवाल र बाँके बर्दियामा उत्कृष्ट महिला रक्तदाता ७६औं पटक रक्तदान गरेकी सरिता ज्ञवालीलाई पालिकाले उत्कृष्ट रक्तदाताको रुपमा सम्मान पत्र र दोसल्लाले विशेष सम्मान गरेको थियो ।
त्यस अवसरमा २० पटक भन्दा बढी रक्तदान गर्ने करिब ३० जनालाई समेत सम्मान गरिएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा १० जनाको प्राविधिक टोली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डे, स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माको नेतृत्व स्वास्थ्यकर्मीको टोली, कृषि शाखा प्रमुख शुसिल शर्मा, एमआइएस अपरेटर कौशलकुमार कैराँती, शिक्षा शाखाका राम एकवाल मण्डल, प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्मा, सूचना प्रविधी अधिकृत सुरेश बर्मा, रक्तदाता स्ववम्सेवी समाजका मनमोहन बर्मा लगायतले सहयोग गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्ष सगिर खाँ, आमोदकुमार तिवारी लगायतको उपस्थिती रहेको थियो ।
सोक्रममा रेडक्रसका तर्फबाट पालिका अध्यक्षलाई प्रंशसा पत्र समेत प्रदान गरिएको थियो । ‘रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔ ।’ भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जनचेतनाको अभावमा अझै पनि अधिकाँस नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ ।





0 Comments