एकैदिन १४ जनाको मेजर शल्यक्रिया
- | नेपाखबर | स्वास्थ्य
- २२ पुष २०८१, सोमवार
- नेपाखबर
नेपालगन्ज २२ पुष : बर्दिया अस्पतालले एकैदिन १० घण्टा लगाएर १४ जना बिरामीको मेजर शल्यक्रिया गरेको छ । पाठेघर सम्बन्धि समस्या भएका बिरामीको विशेषज्ञ चिकित्सकसहितको १६ जनाको टोलीले शनिवार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म करिब १० घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका मेसु डा.सुभाष पाण्डले जानकारी दिए ।
पाठेघर खसेका र पाठेघरमा मासु पलाएका १४ जना पीडित बिरामीहरुको विशेषज्ञ चिकित्सकको टोलिले सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
सीमित स्रोत साधनका बाबजुद एकैदिन १४ जनाको मेजर शल्यक्रिया भएको अस्पतालमा यो पहिलो रेकर्ड भएको मेसु पाण्डेले बताए । गुलरिया नगरपालिकाका ९ जना महिलाले निःशुल्करुपमा पाठेघर सम्बन्धि समस्याको अस्पतालमा शल्यक्रिया गराएका छन् । त्यसैगरि बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका, बढैयाताल गाउँपालिकाकी एक÷एक जना र कैलाली लम्कीचुहाकी एक बिरामीले शल्यक्रिया सेवा लिएको मेसु पाण्डेले बताए ।
१३ जनाको पुर्णरुपमा निःशुल्क र एक जनाको न्यूनतम शुल्क लिएर शल्यक्रिया सेवा प्रदान गरिएको हो । शल्यक्रिया सेवा लिएका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले सकेसम्म बुधबारसम्म डिस्चार्ज गर्ने तयारी गरिएको बताए । ‘अस्पतालमा शल्यक्रिया त भईरहन्छ मेसु पाण्डेले भने–‘तर यति धेरै एकैदिन, त्यो पनि बिदाको दिनमा शल्यक्रिया भएको यो पहिलो पटक भएको हो ।’ सीमित स्रोत साधनका बाबजुत पनि एकैदिनमा १४ जनाको मेजर शल्यक्रिया गर्न सफल भएका छौं मेसु डा.पाण्डेले अगाडी थपे–‘विशेषज्ञ चिकित्सकसहित १६ जनाको टोली बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म परिचालित भएपछि एकै दिन १४ जनाको सफल शल्यक्रिया सम्भव भएको हो ।’
अस्पतालसँग पर्याप्त जनशक्ति नहुँदा कोहलपुरबाट थप बिशेषज्ञ चिकित्सक झिकाएर सेवा प्रदान गरिएको पनि उनले बताए । ‘बर्दिया अस्पतालसँगको मौज्दात जनशक्ती र कोहलपुरबाट ल्याईएको जनशक्ति मिलेर मेजर शल्यक्रिया गर्न सफल भएको हौं ।जनशक्ती सम्भव भए सेवालाई वृहत्तर बनाउने योजना छ’ उनले भने ।
आगामी माघ महिनाको तेस्रो शनिबार पनि शल्यक्रिया सेवा प्रदान गर्ने तयारी भइरहेको मेसु डा. पाण्डेले जानकारी दिए । मेजर शल्यक्रियामा कोहलपुरबाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कविता पाण्डे, स्त्रीरोग विशेषज्ञ डा.होमनाथ अधिकारी र बर्दिया अस्पतालका वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. दिपेन्द्र महासेठ लगायत चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी टोलि खटिएको थियो ।





0 Comments