बाटोमा अलपत्र सुत्केरीले सासूको काखमै ज्यान गुमाइन्

बाटोमा अलपत्र सुत्केरीले सासूको काखमै ज्यान गुमाइन्

नेपालगन्ज २३ पुष : एउटी सुत्केरी, जो व्यथाले च्यापेपछि बिहान तीन नबज्दै स्वास्थ्य चौकीतर्फ लाग्छिन् । आफ्नी बूढी सासुलाई साथ लिएर केही अगाडि बढेपछि उनले बच्चा जन्माउँछिन् । तर न बच्चा जीवित रहन्छ, न त उनी स्वयं । बाटोमा प्रसव व्यथाले थलिएकी उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु हुन्छ ।

सुत्केरी व्यथाले च्यापेपछि बाटोमा अलपत्र परेको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । त्यहाँ एक महिलाले सुत्केरीलाई आफ्नो काखमा राखेकी छिन् । अरु दुई महिला पनि साथमा देखिन्छन् ।

यो घटना हो बझाङ जिल्लाको केदारस्युँ गाउपालिका वडा नम्बर १ को । त्यहाँकी खिना बोहोराले यसरी सुत्केरी अवस्थामै ज्यान गुमाएकी हुन् । उनको उमेर २२ वर्षको मात्र थियो र पहिलो सन्तानलाई जन्म दिंदै थिइन् ।

उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा वृद्ध ससुरा र सासू मात्र थिए । ससुराको आँखामा समस्या भएकाले राम्ररी देख्न सक्दैनन् । खिनालाई अघिल्लो दिनदेखि नै सुत्केरी व्यथाले च्यापेको रहेछ । तर उनले कतै हारगुहार गरिनन् ।

‘उनले कसैलाई व्यथा लागेको कुरा कसैलाई खबर गरिनन्,’ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले भने, ‘घरमा सासू ससुरा पनि वृद्ध भएकाले उनले चुपचाप व्यथा सहेको हुनुपर्छ ।’

असह्य पीडा भएपछि उनले राति १२ बजेतिर सासूलाई खबर गरिन् । राति कहाँ जाने, कसलाई भन्ने उनीहरुले मेसो पाएनन् । बिहान तीन बजे मात्र सासूले अर्की छिमेकीलाई साथ लिएर स्वास्थ्यचौकीतर्फ लागे । उनको घरबाट स्वास्थ्य चौकी गाडीमा आधा घण्टामा पुग्न सकिने अध्यक्ष बोहराले बताए ।

‘उनको घरसम्मै मोटरबाटो छ, गाडी आउजाउ गर्न सक्छ,’ उनले भने, ‘अटो पनि चल्छ । तर उनले त्यसको व्यवस्थापन गर्न सकिनन् ।’ अहिले सुत्केरीको बाटोमा नै मृत्यु भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिरामी बोक्ने मान्छे र एउटा स्टेचर पनि नहुँदा उनको अकालमा ज्यान गएको भन्दै धेरैले आक्रोश पोखेका छन् । यद्यपि गाउँपालिका अध्यक्ष बोहरा भने त्यस क्षेत्रमा सुत्केरीका लागि एम्बुलेन्स र एउटा गाडीको समेत व्यवस्था गरिएको बताउँछन् ।

Duduwa Tato hawa Bachau Image

‘स्वास्थ्य चौकीमा उनी त्यसअघि आठ पटक स्वास्थ्य जाँच गराउन गएकी रहिछन्,’ बोहराले भने, ‘त्यहाँकी अहेबले उनलाई व्यथा लाग्नासाथ फोन सम्पर्क गर्नु भनेका रहेछन् । तर उनले खबर गरिनन् ।’