बाँकेमा शितलहर र चिसो बढेपछि जनजीवन प्रभावित
- | नेपाखबर | स्वास्थ्य
- २ माघ २०८१, बुधवार
- नेपाखबर
नेपालगन्ज २ माघ : पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगन्ज, डुडुवा, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।
‘चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगन्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ’, नेपालगन्जका स्थानीय जगदम्बा प्रसाद गुप्ताले भने, ‘चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।’
चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–२ का मजदूर प्रेम मौर्यले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’
दैनिक ज्यालादारी काम गर्न पहाड तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदूर सुकराम खटिक भन्छन् ।
आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । ‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन’, उनले भने, ‘त्यसैले घरमा आगो तापेर बसेको छु ।’
चिसोबाट विशेषगरी विद्यार्थी, मजदूर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् ।
चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले बताउँछन् । चिसोले गर्दा बालबालिका, दीर्घरोगीका बिरामीलाई समस्या बनाएको छ ।
यस्तै चिसो बढ्दै गएपछि बाँकोको कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकाले बिद्यालय बन्द समेत गरेकोछ ।





0 Comments