बाँकेमा वन्यजन्तु उद्धारमा बृद्धिः एक वर्षमा १९७ वन्यजन्तुको उद्धार

बाँकेमा वन्यजन्तु उद्धारमा बृद्धिः एक वर्षमा १९७ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउन : बाँके जिल्लामा वन्यजन्तुको उद्धार गर्ने कार्य वृद्धि हुँदै गएको छ । विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा विभिन्न वन्यजन्तु उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको हो ।

डिभिजन वन कार्यालय बाँकेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वन कार्यालयले विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । 

त्यसैगरी आव २०८०/८१ मा ९९ वटा, आव २०७९/८० मा ४२ वटा, आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालय बाँकेको तथ्याङ्क छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।

जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको बढी चलहपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फँस्नुजस्ता विभिन्न कारणले गर्दा वन्यजन्तु आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका र त्यस्ता वन्यजन्तुलाई उद्धार गरिँदै आएको छ ।

यस्तै आर्थिक वर्ष २०८२/२०८३ मा डिभिजन वन कार्यालय बाँकेले विभिन्न प्रजातिका एक सय ९७ वन्यजन्तुको उद्धार गरेको छ । एक सय ९७ वन्यजन्तुमध्ये सबैभन्दा धेरै एक सय ७० प्रजातिका सर्पको उद्धार गरेको छ, जसमा ७६ वटा कोब्रा सर्प रहेका छन् ।

Duduwa Tato hawa Bachau Image

बाँकेका विभिन्न स्थानबाट कोब्रा (गोमन), धामन, करेत, अजिङ्गर, रसेल भाइपर, पानी सर्प, राजगोमन, गोही, गोहोरो, नीलगाई, हुचिल, बँदेल, कालोबिरालो, चित्तल, बाँदर र बाज गरि एक सय ९७ वन्यजन्तुको उद्धार गरिएको हो ।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका एक सय ७० रहेको जानकारी दिए । जसमध्ये ७६ वटा कोब्रा, ३६ वटा धामन, १९ वटा करेत, रसेल भाइपर १३ वटा, अजिङ्गर १० वटा, पाँच वटा पानीसर्प र एउटा राजगोमन रहेका छन् ।

त्यसैगरी गोही आठ वटा, सुनगोहोरो आठ वटा, चित्तल चार वटा, नीलगाई तीन वटा र हुचिल तीन वटा, बँदेल, बाँदर, बाज तथा कालोबिरालो एक–एक वटा उद्धार गरिएको छ ।

घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिँदै आइएको वरिष्ठ वन अधिकृत सुवेदीले बताए । उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको उनले जानकारी दिए ।

केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधी उपचारपश्चात् पूर्ण रुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको छ ।