मध्य असारसम्म बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

मध्य असारसम्म बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज २० असार : मध्य असारसम्म बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । सिँचाइ अभाव हुँदा आकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र धान रोपाइँ भएको हो ।

जिल्लाका केही भू–भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीकै भरमा छन् ।  पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैँसम्म धान रोप्न नसकेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताइन् ।

उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ शुक्रबारसम्म १८ प्रतिशत मात्र भएको छ । रोपाइँ भएकोमध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरिरहेका छन् ।  

मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने शर्माले बताइन् । उनका अनुसार जिल्लामा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ । 

Duduwa Tato hawa Bachau Image

सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेकाले ती क्षेत्रमा रोपाइँ भइरहेको शर्माको भनाइ छ । उनका अनुसार सिँचाइ अभावका कारण जिल्लाका अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । 

रोपाइँको समय भएकाले सिक्टाको पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको आयोजना कार्यालयका सूचना अधिकारी मनोज शाहले बताए । उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिएकोमा हालसम्म २४ हजार हेक्टर क्षेत्रका किसानले सिँचाइ सुविधा पाएका छन् ।