‘गौंथली’को आक्रामक व्यापार, वर्षकै नम्बर १ फिल्म बन्ने निश्चित
१० दिनमै कमायो ७ करोड ४२ लाख
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- ११ साउन २०८३, सोमवार
- नेपाखबर
नेपालगन्ज ११ साउन : नेपाली चलचित्र ‘गौंथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएकोछ । साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ले प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ । १० दिनको अवधिमा देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको तथ्याङ्कले देखाउँछ । फिल्मले विशेषगरी मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ ।
‘गौंथली’ ले प्रदर्शनको दोस्रो शनिबार मात्रै १ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको ग्रस व्यापार गरेको थियो, जुन यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सर्वाधिक कमाइ (हाइएस्ट सिंगल डे कलेक्सन) हो ।
हिजो आईतबार पनि चलचित्रको व्यापारिक रफ्तारमा कमी आएन र करिब डेढ करोडको व्यापार गर्न सफल भयो । यो चलचित्रले आगामी दिनमा अझंै ठूलो व्यापारिक उचाइ लिने अनुमान गरिएको छ ।
हालसम्मको कमाइका आधारमा ‘गौंथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको छ । यसअघिको ‘लालीबजार’ पहिलो स्थानमा छ । ‘गौंथली’को वर्तमान व्यापारिक गतिलाई हेर्दा यसै साताभित्र १० करोडको आँकडा पार गर्दै वर्षकै नम्बर १ फिल्म बन्ने निश्चित देखिएको छ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’ साउन १ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरूण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् । डा. भोला रिजालको कथामा रहेको फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् ।गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।





0 Comments