एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा दिदैँ खजुरा क्यान्सर अस्पताल
- | नेपाखबर | स्वास्थ्य
- ११ साउन २०८३, सोमवार
- नेपाखबर
नेपालगन्ज ११ साउन : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सम्पूर्ण डायग्नोसिस सेवा एउटै भवनबाट सञ्चालनमा ल्याएको छ ।
उपचारका लागि अस्पताल आएका बिरामीहरुलाई फरक–फरक स्थानमा बिभिन्न परीक्षण गर्न असहज भएको गुनासो आएपछि रोगको पहिचानका लागि गरिने सम्पूर्ण परीक्षणहरु एउटै भवनबाट सञ्चालनमा ल्याएको खजुरा क्यान्सर अस्पतालले जनाएको छ ।
डायग्नोसिस ल्याव, रेडियोलोजी तथा थेरापी सम्बन्धी सम्पूर्ण सेवा एउटै भवनबाट सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।
रगत परीक्षण, सिटी स्क्यान, भिडियो एक्सरे, मेमो ग्राफी, थेरापी लगायतको सेवा लिन फरक–फरक स्थानमा जानुपर्दा बिरामीहरुलाई असहज भएको देखिएपछि एउटै भवनबाट सेवा सञ्चालन गरिएको उनले बताए ।
दुरदराजबाट आएका बिरामीहरुलाई परीक्षण गर्ने भवनहरु पत्ता लगाउनै गाह्रो परिरहेको अवस्थामा एउटै छानामुनी सबै सेवा प्राप्त भएपछि बिरामीहरुले राहत पाउने डा. भट्टराईले अपेक्षा गरे । बिरामीलाई परीक्षण गर्ने स्थान पत्ता लगाउन सजिलो बनाउन डायग्नोसिस भवनलाई निलो रङ्ग दिइएको छ ।
बिरामीहरुको सहजताका लागि एम्बुलेन्स र सुरक्षाका लागि रातो घर, बहिरङ्गसहित केमो, फार्मेसीका लागि पहेंलो भवन निर्धारण गरिएको उनले बताए । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका दुर्गम क्षेत्रबाट क्यान्सरको उपचारका लागि अस्पताल आएका बिरामीलाई फरक–फरक ब्लक पत्ता लगाउन असहज बन्ने गरेको थियो ।
अस्पतालले गत आवमा मात्र ३ प्रदेशका ४० हजार बढी क्यान्सरका बिरामीहरुलाई सेवा दिएको अस्पतालले जनाएको छ ।





0 Comments