डुडुवाले सुरु गर्‍यो भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य

डुडुवाले सुरु गर्‍यो भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य

नेपालगन्ज १२ साउन : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले डुडुवा गाउँपालिकाले निवेदन संकलन कार्य सुरु गरेको छ ।

भुमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालय अन्र्तगत भुमि समस्या समाधान समितिको समन्वयमा गाउँपालिकाले वडा तहबाट निवेदन संकलन प्रक्रिया अघि बढाएको हो । 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन तथा जग्गा व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन प्रत्येक वडामा कर्मचारीको टोली खटाएर निवदेन संकलन कार्य शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार यस अभियानले वास्तविक लाभग्राहीको तथ्याङ्क अद्यावधिक गर्न र भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

उनले पालिकाका नागरिकलाई आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा उपस्थित भई समयमै निवेदन दर्ता गराउन आग्रह गरेका छन् । निवेदनका साथ नागरिकता प्रमाणपत्र, परिवारका सदस्यहरूको विवरण, बसोबास पुष्टि हुने कागजात तथा अन्य आवश्यक प्रमाणहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष चौधरीले भूमि अधिकार नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले वास्तविक भूमिहीन नागरिकले यस अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले पारदर्शी र निष्पक्ष ढंगबाट तथ्याङ्क संकलन गरी योग्य लाभग्राहीलाई भूमि व्यवस्थापन प्रक्रियामा समेटिने विश्वास व्यक्त गरे ।

निवेदन संकलन कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन डुडुवाका ६ वटै वटामा कर्मचारीको टोली परिचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

स्थानीयवासीले लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेकाले निवेदन संकलन कार्य सुरु भएपछि धमाधम विवरण संकलन हुन थालेको छ । यस अभियानबाट वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अभिलेखीकरण भई आगामी दिनमा जग्गा उपलब्ध गराउने तथा लालपुर्जा वितरण प्रक्रियालाई गति मिल्ने अपेक्षा गरिएको छ ।